हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
नवीन पार्की, कञ्चनपुर । निरन्तरको वर्षाका कारण कञ्चनपुरमा बाढी, डुबान र कटानको जोखिम बढेको छ । चुरे क्षेत्रमा भइरहेको भारी वर्षासँगै महाकाली, दोदा–मछेली लगायतका नदी तथा खोलामा पानीको सतह बढेपछि जोखिम बढेको हो।
कञ्चनपुरका विभिन्न क्षेत्रमा सोमबार पनि वर्षा भइरहेको छ । वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहावसमेत बढ्दै गएको छ । वेदकोट नगरपालिका–३ र ४ जोड्ने बैतडास्थित घटालथानको झोलुङ्गे पुलसमेत बाढीले बगाएको वेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले जानकारी दिएका छन् ।
जोखिम बढेपछि पुनर्वास नगरपालिकाको विपद् व्यवस्थापन शाखाले एसएमएस र आइभीआरमार्फत सूचना जारी गर्दै रातोताल, सिमरी, दशरथबस्ती र विकासबस्ती लगायतका तटीय बस्तीका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नदी तथा खोला किनारमा नजान र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न नगरपालिकाले अनुरोध गरेको हो ।
महाकाली नदीमा पानीको बहाव पनि एक लाख क्युसेकभन्दा माथि रहेको छ । बहाव लगातार एक लाख क्युसेकमाथि रहेकाले गड्डाचौकी–बनबासा नाकाबाट चारपांग्रे सवारीसाधनको आवागमन ७ दिनदेखि बन्द छ । उच्च बहावका कारण सीमा क्षेत्रमा हुने यात्रु आवागमनसँगै व्यापार तथा मालसामानको आयात–निर्यातसमेत प्रभावित भएको छ ।
यस्तै, दोदा नदीमा पानीको बहाव बढ्दा लालझाडी, बेलौरी र पुनर्वासका तटीय बस्तीमा बाढी तथा डुबानको जोखिम बढेको छ ।
सुदूरपश्चिमसँगै भारतको उत्तराखण्ड क्षेत्रमा समेत वर्षा जारी रहेकाले नदी तथा खोलामा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना छ । सम्भावित बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी तथा खोलानाला किनारमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रशासनले नदी तर्ने, माछा मार्ने तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न र जोखिम बढेमा सुरक्षित स्थानतर्फ जानसमेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V