हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष

पुनर्वास (कञ्चनपुर) ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाभित्रका युवालाई डिजिटल सीप सिकाउने तथा सीप हासिल गरेका युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने मुख्य उद्देश्यसहित नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।
‘युवा, उद्यमी र नगरपालिकाका लागि डिजिटल प्रविधि’ विषयमा केन्द्रित रहेर आयोजना गरिएको उक्त कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, युवा, विद्यालयका प्रधानाध्यापक, सहकारीका प्रतिनिधि तथा कृषि र पशुपालन क्षेत्रका संघसंस्थाका प्रतिनिधि गरी ६० जनाको सहभागिता रहेको थियो।

युरोपेली संघ (EU) को आर्थिक सहयोगमा सञ्चालित ‘अनलिसिङ डिजिटल एक्सेलेरेसन एन्ड एम्बिसन अफ नेपाली युथ’ (UDAAN) परियोजना अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो। सन् २०२६ देखि २०२९ सम्म चार वर्ष सञ्चालन हुने यस परियोजनाले नेपाली युवाको डिजिटल सीप, नवप्रवर्तन, उद्यमशीलता र रोजगारीका अवसर सुदृढ गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मा, नगर उपप्रमुख भुलिया कुमारी राना, नगर प्रवक्ता तथा पुनर्वास नगरपालिका–११ का वडाध्यक्ष तुलसी अर्याल लगायत सरोकारवाला निकायका प्रतिनिधि तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
नीति संवादमा स्थानीय स्तरमा डिजिटल प्रविधिको पहुँच विस्तार, आवश्यक प्राविधिक सीप प्रदान, सीप प्राप्त युवालाई रोजगारीका अवसरसँग जोड्ने र उद्यमशीलतामा प्रविधिको उपयोग गर्ने विषयलाई प्राथमिकता दिइएको थियो। साथै, इन्टरनेट पहुँच, उपकरणको उपलब्धता, प्राविधिक मार्गदर्शन र प्रविधिको व्यावहारिक प्रयोगका चुनौती पहिचान गरी स्थानीय सरकारको नीति, योजना तथा बजेटमा समावेश गर्न सकिने व्यावहारिक प्राथमिकताका विषयमा छलफल गरिएको थियो।

उडान (UDAAN) परियोजना चार मुख्य अवयवमार्फत कार्यान्वयन भइरहेको छ:
पाठशाला (PATHSHALA): कृत्रिम बुद्धिमत्ता (AI), कोडिङ तथा एनिमेसनलगायत डिजिटल सीप विकास गरिने।
कार्यशाला (KARYASHALA): ह्याकाथन, बुटक्याम्प, मेन्टरसिप र इन्क्युबेसनमार्फत युवाका नवीन विचारलाई व्यावहारिक समाधानमा रूपान्तरण गरिने।

कर्मशाला (KARMASHALA): इन्टर्नसिप तथा फेलोसिपमार्फत कार्यअनुभव र करियरको अवसरसँग जोडिने।
नीतिशाला (NITISHALA): नीति संवाद, नवप्रवर्तन र नागरिक सहभागितामार्फत डिजिटल शासनमा युवाको सहभागिता सुदृढ गरिने।
यस परियोजनामा प्राइम युथ इनोभेसन ल्याब (YILab), हेफर प्रोजेक्ट नेपाल (HPN), NAAMII तथा वुमन इन एनिमेसन (WiA) नेपाल साझेदार संस्थाका रूपमा रहेका छन्।

कार्यक्रमको सहजीकरण पुनर्वास नगरपालिकाका ओमनाथ ढकालले गर्नुभएको थियो भने हेफर प्रोजेक्ट नेपालका परियोजना अधिकृत गोपाल भुसालको पनि सहभागिता रहेको थियो।
स्थानीय सरकार, शैक्षिक संस्था, सहकारी र कृषि/पशुपालन क्षेत्रबीच सहकार्य बढाउँदै युवालाई डिजिटल प्रविधिमा दक्ष बनाउन र रोजगारीसँग जोड्न यस नीति संवादले महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास लिइएको छ।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V