हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुर, असार २२ — सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको नेतृत्वमा प्रदेशभर सञ्चालन भइरहेको अपराध नियन्त्रण तथा अनुसन्धान अभियान प्रभावकारी बन्दै गएको छ। प्रदेश प्रहरी प्रमुख डीआईजी सानु राम भट्टराई को मातहतमा खटिएका प्रहरी टोलीले विभिन्न स्थानमा आपराधिक गतिविधिविरुद्ध सक्रिय अनुसन्धान गर्दै उल्लेखनीय सफलता हासिल गरिरहेको प्रहरीले जनाएको छ।
डीआईजी भट्टराईले पछिल्लो समय सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने चोरी, लागुऔषध कारोबार, अवैध ओसारपसार तथा अन्य आपराधिक गतिविधिमाथि प्रहरीले कडा निगरानी बढाएको र त्यसको सकारात्मक परिणामस्वरूप लगातार सफलता प्राप्त भइरहेको बताउनुभयो। अपराध नियन्त्रण र शान्ति–सुरक्षा कायम गर्न प्रदेश प्रहरी अझ प्रभावकारी ढंगले परिचालन भइरहेको उहाँको भनाइ छ।
यसै क्रममा बेलौरी नगरपालिका–३, हिरापुर क्षेत्रमा बेवारिसे अवस्थामा रहेको चोरीको आशंका गरिएको मोटरसाइकल प्रहरीले फेला पारी थप अनुसन्धान अघि बढाएको छ।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित लक्साल चोकमा शंकाको आधारमा गरिएको चेकजाँचका क्रममा निशान भण्डारी (२८) को मुखबाट ब्राउन सुगरजस्तो देखिने करिब १.५ ग्राम पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न सौरभ गहतराज (१५) लाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
उता कञ्चनपुरको पुनर्वास नगरपालिका–३ स्थित न्यु फ्रेस हाउस मासु पसल मा गाईको मासु बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्की को नेतृत्वमा खटिएको टोलीले छापा मारी गाईको मासुजस्तो देखिने ४९ किलो मासु बरामद गरेको छ।
बरामद मासुसहित पसल सञ्चालक भारत उत्तर प्रदेश पिलिभीत घर भई हाल पुनर्वासमा बसोबास गर्दै आएका एजाज अहमद अन्सारी (२८) लाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिनुभयो।
प्रहरीका अनुसार प्रदेशभर शान्ति–सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न तथा कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाउन विशेष निगरानी र अपरेशनलाई निरन्तरता दिइनेछ।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V