हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
नवीन पार्की, ११ साउन, कञ्चनपुर — पुनर्वास नगरपालिका–६ निवासी प्रविण भुलले पुनर्वासको ६५ बिघा क्षेत्रमा कृषि क्याम्पस स्थापना गर्ने उद्देश्यले आयोजित महायज्ञबाट संकलित रकमको पारदर्शी हिसाब सार्वजनिक गर्न सम्बन्धित पक्षसँग माग गरेका छन्।
भुलका अनुसार वि.सं. २०७१ असोज २४ गतेदेखि ३१ गतेसम्म कृषि क्याम्पस निर्माणको उद्देश्यसहित महायज्ञ आयोजना गरिएको थियो। उक्त महायज्ञबाट करिब रु. २ करोड ४१ लाख रकम संकलन भएको विवरण सार्वजनिक भएको स्मरण गर्दै उनले वर्षौँ बितिसक्दा पनि कृषि क्याम्पस निर्माणको योजना अपेक्षित रूपमा अघि बढ्न नसकेकोप्रति प्रश्न उठाएका छन्।
भुलले आफू तत्कालीन समयमा जीवन ज्योति माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेको स्मरण गर्दै महायज्ञमा विद्यार्थीका रूपमा आफू पनि सहभागी भएको बताएका छन्। उनका अनुसार त्यतिबेला शिक्षकहरूको आग्रहमा आफूजस्ता बालबालिकाले समेत आफ्नो क्षमताअनुसार सानो रकम दान गरेका थिए। विद्यालयदेखि ६५ बिघासम्म नारा लगाउँदै पुगेको, दिनभरि महायज्ञस्थलमा बसेको र त्यसपछि घर फर्किएको स्मरण गर्दै उनले त्यसबेला आफूले महायज्ञको उद्देश्य र आर्थिक पक्षबारे विस्तृत रूपमा बुझ्न सक्ने अवस्था नरहेको बताए।
हाल आएर कृषि क्याम्पस निर्माणका लागि जनताबाट संकलित रकमको वास्तविक अवस्था स्पष्ट हुनुपर्ने उनको भनाइ छ। उनले रकम कहाँ जम्मा गरिएको थियो, कुन वित्तीय संस्थामा राखिएको छ, खर्च भएको भए कुन प्रयोजनमा खर्च भयो, लगानी गरिएको भए कहिले, कहाँ र कसको निर्णयमा लगानी गरियो तथा बाँकी मौज्दात कति छ भन्ने विषयमा सम्बन्धित पक्षले सार्वजनिक रूपमा जानकारी दिनुपर्ने माग गरेका छन्।
भुलले महायज्ञ आयोजक समितिको सम्पूर्ण आय–व्यय विवरण, बैंक स्टेटमेन्ट, लेखापरीक्षण प्रतिवेदन र हालको मौज्दात सार्वजनिक गर्नुपर्ने बताएका छन्। साथै, तत्कालीन आयोजक समितिका अध्यक्ष, महासचिव र कोषाध्यक्ष को थिए, संकलित रकम कुन बैंक वा वित्तीय संस्थामा जम्मा गरियो र रकम अन्य कुनै संस्था वा व्यक्तिलाई हस्तान्तरण वा दान गरिएको भए त्यसको विवरणसमेत सार्वजनिक गर्नुपर्ने उनको माग छ।

उनले भनेका छन्, “जनताले आफ्नो गाँस काटेर, सक्दो सहयोग गरेर दिएको रकमको एक–एक रुपैयाँको हिसाब जनताले जान्न पाउनुपर्छ। वर्षौँअघि उठाइएको रकमको अवस्था र कृषि क्याम्पस निर्माण योजनाको प्रगति अब स्पष्ट रूपमा सार्वजनिक गरिनुपर्छ।”
भुलले आफू कसैलाई पूर्वाग्रहपूर्ण आरोप लगाउने पक्षमा नरहेको स्पष्ट गर्दै सम्बन्धित व्यक्ति तथा संस्थासँग तथ्य र प्रमाणसहित जवाफ मागेको बताएका छन्। उनका अनुसार यो विषय कुनै व्यक्ति विशेषलाई दोषारोपण गर्नेभन्दा पनि सार्वजनिक जवाफदेहिता, वित्तीय पारदर्शिता र जनविश्वाससँग जोडिएको विषय हो।
“महायज्ञबाट संकलित रकमको एक–एक रुपैयाँ कहाँबाट आयो, कहाँ खर्च भयो र अहिले कहाँ छ भन्ने विवरण सार्वजनिक हुनुपर्छ। जनताले प्रश्न सोधेका छन्, अब सम्बन्धित पक्षले तथ्यसहित जवाफ दिनुपर्छ,” भुलको भनाइ छ।
कृषि क्याम्पस निर्माणको उद्देश्यले वर्षौँअघि सञ्चालन गरिएको उक्त महायज्ञ र त्यसबाट संकलित भनिएको रकमको वर्तमान अवस्था तथा योजनाको प्रगति सम्बन्धमा सम्बन्धित आयोजक समिति र सरोकारवाला निकायबाट आधिकारिक धारणा सार्वजनिक हुनुपर्ने मागसमेत उठेको छ।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V