हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुरको पुनर्वास नगरपालिका–५ ‘ग’ गाउँका १८ वर्षीय युवा अशोक विश्वकर्माको नेतृत्वमा ‘इगोलाइज पुनर्वास’ अभियान सुरु भएको छ। युवालाई सामाजिक सेवामा सक्रिय बनाउँदै आफ्नो गाउँ–ठाउँको विकास, सरसफाइ र सार्वजनिक संरचनाको सुधारमा योगदान पुर्याउने उद्देश्यले विश्वकर्माले आफ्नै पहलमा अभियान अघि बढाएका हुन्।
अभियानमार्फत पुनर्वास नगरपालिकाका विभिन्न स्थानमा रहेका बिग्रिएका सडक, सार्वजनिक स्थल तथा आसपासका क्षेत्रमा सरसफाइ, सुधार तथा आवश्यक निर्माणका काममा स्थानीय युवाको सहभागिता बढाउने योजना अघि सारिएको छ। साथै, स्थानीय स्तरमा देखिएका समस्याको पहिचान गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र समाधानका लागि पहल गर्ने अभियानको लक्ष्य रहेको छ।
सानै उमेरमा सामाजिक कामप्रति देखाएको सक्रियता र नेतृत्वदायी भूमिकाका कारण अशोक विश्वकर्माको यो पहललाई युवापुस्ताका लागि उदाहरणीय कदमका रूपमा लिन सकिन्छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो समुदायका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ अभियान सुरु गर्नु सकारात्मक र प्रशंसनीय प्रयास भएको स्थानीयको भनाइ छ।
अभियानका नेतृत्वकर्ता विश्वकर्माका अनुसार युवाहरूलाई सामाजिक कार्यप्रति जागरुक, जिम्मेवार र सक्रिय बनाउँदै आफ्नो ठाउँको विकासमा आफैंले पनि भूमिका खेल्न सक्छौँ भन्ने भावना विकास गराउनु अभियानको मुख्य उद्देश्य हो ।
“युवाहरू एकजुट भएर आफ्नो समुदायका समस्या समाधान गर्न अघि बढे सकारात्मक परिवर्तन सम्भव छ,” विश्वकर्माको भनाइ छ।
‘इगोलाइज पुनर्वास’ अभियानले पुनर्वासका विभिन्न स्थानमा रहेका सडक तथा सार्वजनिक स्थलको अवस्था सुधार गर्न स्थानीय युवाको सहभागिता बढाउने तथा आवश्यकताअनुसार स्थानीय सरकारसँग समन्वय गर्ने योजना बनाएको छ।
१८ वर्षको उमेरमै सामाजिक परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै अघि बढेका अशोक विश्वकर्माको यो अभियानले पुनर्वासका अन्य युवालाई पनि सामाजिक सेवामा जोडिन प्रेरित गर्ने अपेक्षा गरिएको छ। स्थानीय तहको विकास र सरसफाइमा युवाको सक्रिय सहभागिता बढाउन सके अभियानले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V